१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

पहिरोले नाग्मा–गमगढी सडक दुई दिनदेखि ठप्प, यात्रु र सवारीसाधन अलपत्र

Nepal NB News
११ साउन २०८३, सोमवार

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले यात्रुवाहक बस, मालवाहक सवारीसाधन तथा सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाइ क्षेत्रमा पहिरो खसेपछि सडक सञ्चालनमा कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । जेसीबीमार्फत पहिरो पन्छाउने प्रयास भइरहे पनि माथिबाट लगातार पहिरो खसिरहेकाले काम प्रभावित भएको छ । अवस्था नियन्त्रणमा लिन थप जेसीबी र जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार झ्यारी खोलादेखि ताल्चा विमानस्थलसम्मको ९८ प्लस ३०० चेनेज क्षेत्रमा सडक डबल कटिङ, साइड नाला निर्माण तथा पहिरो प्रभावित क्षेत्रमा ग्याबिन जाली लगाउने ठेक्का भइसकेको भए पनि निर्माण कम्पनीले समयमै काम नगर्दा वर्षायाममा हिलो र पहिरोको समस्या दोहोरिएको हो ।

हाल झ्यारी खोलादेखि ताल्चासम्म सडक सफाइ र पहिरो हटाउने काम तीव्र पारिएको छ । वर्षा रोकिएमा मंगलबारसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको सडक डिभिजन कार्यालय जुम्लाका सुपरभाइजर जुग्गीबहादुर मल्लले बताएका छन् ।

सडक बन्द हुँदा औषधोपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं हिँडेका बिरामी तथा अन्य यात्रुहरू बीचबाटोमै रोकिएका छन् । नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न तथा व्यापारिक सामग्री बोकेर आएका दर्जनौँ मालवाहक सवारीसाधन पनि सडकमै अलपत्र अवस्थामा छन् ।

यात्रुहरूले स्थानीय जनप्रतिनिधि, पालिका, प्रहरी र प्रशासनले ठेकेदारलाई समयमै काम गर्न दबाब नदिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । यात्रु अक्कलसिंह कुमालले सडक कहिले खुल्ने भन्नेबारे टुंगो नहुँदा बाटोमै रात बिताउनुपरेको र खानबस्नसमेत समस्या भएको बताए ।

मुगुको सदरमुकाम गमगढी सडक सञ्जालमा जोडिएको १४ वर्ष बितिसक्दा पनि सडकको अवस्था सुधार हुन नसकेको स्थानीयको गुनासो छ । वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोका कारण यात्रा जोखिमपूर्ण बन्दै आएको चालक खगेन्द्र खड्काले बताए ।

मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढाले सडक छिट्टै सञ्चालनमा ल्याउन जिल्ला प्रशासन कार्यालय मुगु र सडक डिभिजन कार्यालय जुम्लासँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित : ११ साउन २०८३, सोमवार 14:47

थप समाचार

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved