१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने : सांसद सिंह

Nepal NB News
१४ साउन २०८३, बिहिवार

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले हिंसा, अशान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि त्यागेर समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने बताएका छन् ।मधेशवासीलाई सम्बोधन गर्दै सांसद सिंहले पटकपटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशमा अशान्ति मात्र निम्त्याएको नभई विकासको गतिलाई करिब १० वर्ष पछाडि धकेलेको बताएका छन् ।उनका अनुसार यस्ता गतिविधिले सार्वजनिक तथा भौतिक संरचनामा क्षति पु¥याउने, शैक्षिक सत्र प्रभावित गर्ने, व्यापार व्यवसाय ठप्प पार्ने र समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने गरेको छ ।यसको प्रत्यक्ष असर अन्ततः मधेशकै विकास र समृद्धिमा पर्ने उनले उल्लेख गरेका छन् । ‘अब मधेशले हिंसा र अशान्तिको बाटो छाडेर विकासको एजेन्डामा केन्द्रित हुनुपर्ने समय आएको छ,’ सांसद सिंहले भनेका छन् ।

उनले मधेशको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारीलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।सबै जातजाति, धर्म, समुदाय र वर्ग एक ढिक्का भएर मधेशको समुन्नत विकासका लागि काम गर्नुपर्ने उनको भनाइ छ । सांसद सिंहले मधेशवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई समाजमा शान्ति र सद्भाव बिगार्ने उद्देश्यले सक्रिय असामाजिक तत्वको पछि नलाग्न पनि आग्रह गरेका छन् ।समाजमा एकताबद्ध रूपमा बसिरहेका समुदायबीच विभाजन, द्वन्द्व र अविश्वास फैलाउने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरूलाई मधेशको विकासविरोधीका रूपमा बुझ्नुपर्ने उनले बताएका छन् ।यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई समाजले अस्वीकार गर्दै शान्ति, सद्भाव र विकासको पक्षमा दृढतापूर्वक उभिनुपर्ने सांसद सिंहको अपिल छ ।उनले अब मधेशको भविष्य आन्दोलन, हिंसा र अशान्तिमा नभई शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार तथा दिगो विकासमा खोज्नुपर्ने उल्लेख गर्दै समृद्ध मधेश निर्माणका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।

प्रकाशित : १४ साउन २०८३, बिहिवार 13:22

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved