३ कार्तिक २०८३, सोमवार 19 Oct 2026, Monday

अमेरिका–चीनबीच एआई जोखिम र राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद संयन्त्र बनाउने छलफल

५ असोज २०८३, सोमवार

काठमाडौँ — अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न हुन सक्ने जोखिम तथा राष्ट्रिय सुरक्षासँग जोडिन सक्ने चुनौतीबारे नियमित सूचना आदानप्रदान गर्ने संयन्त्र निर्माण गर्ने विषयमा छलफल गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अपेक्षित शिखर बैठकअघि आर्थिक अधिकारीबीच भएको वार्तामा यस्तो प्रस्ताव अघि सारिएको हो। 

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा भएको वार्ता न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा चलेको थियो। वार्तापछि बेसेन्टले व्यापार तथा एआईसम्बन्धी छलफललाई ‘धेरै सफल संवाद’ भएको बताएका छन्।

प्रस्तावित ‘अमेरिका–चीन एआई संवाद’मार्फत एआईसँग सम्बन्धित सम्भावित घटना तथा राष्ट्रिय सुरक्षासम्म असर पुग्न सक्ने जोखिमबारे दुवै देशले एकअर्कालाई जानकारी गराउने व्यवस्था बनाउने विषयमा छलफल भएको हो।

बेसेन्टका अनुसार यस विषयमा थप वार्ता अघि बढाउन दुवै पक्ष सहमत भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमले भने वार्तालाई ‘स्पष्ट, गहन र रचनात्मक’ भएको जनाएको छ। सिन्ह्वाका अनुसार बैठकमा द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धन तथा यसअघि भएका सहमति कार्यान्वयनका विषय पनि उठेका थिए।

वार्तामा चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङ्गाङसमेत सहभागी थिए।

प्रकाशित : ५ असोज २०८३, सोमवार 13:27

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved