काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका हुन् ।
पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता बरालले विगत ८–१० महिनादेखि कांग्रेसलाई यो संकटबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिए । ‘नेपाली कांग्रेस विभाजित हुँदा हिजोका दिनमा व्यवस्थामाथि अप्ठ्यारो परेको थियो, तर अहिले त्योभन्दा विषम परिस्थिति छ,‘ उनले भने, ‘कांग्रेस विभाजन भएर कमजोर भयो भने राष्ट्रियतामाथि काला बादलहरू मडारिने संकेत देखिँदैछ । त्यसैले नेतृत्व तहबाट पार्टी एक गराउने सही कदमको हामी प्रतीक्षा गरिरहेका छौँ ।’
नेता बरालले पार्टीको वर्तमान नेतृत्व, विशेषगरी सभापति गगन थापा र उनको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले पार्टीलाई गोलचक्करमा फसाएको र आत्मबोधको कमीका कारण मुलुक नै गतिहीन र गन्तव्यहीन बनेको तर्क गरे ।
उनले भने, ‘हामी विभाजित हुँदा यो देशको मेरुदण्ड मानिएको नेपाली कांग्रेस कमजोर भएको छ । मेरुदण्ड नै कमजोर भएपछि न व्यवस्था बलियो हुन्छ, न राष्ट्रियता’ पार्टीको क्रियाशील सदस्यता विवादका सम्बन्धमा उनले कडा टिप्पणी गरे । सभापति थापाले जनकपुरमा आयोजित एक कार्यक्रममा आवेगमा आएर सम्पूर्ण क्रियाशील सदस्यता खारेज गर्ने घोषणा गर्नुलाई उनले हुकुमी शैलीको संज्ञा दिए ।
कांग्रेसको विधान अनुसार नेतृत्वमा पुग्न निश्चित वर्षको निरन्तर क्रियाशील सदस्यता चाहिने व्यवस्था उल्लेख गर्दै उनले भने, ‘क्रियाशील सदस्य कसैले खारेज गरेर खारेज हुँदैनन् । यदि सबै खारेज भएको मान्ने हो भने नेतृत्वकै १५ वर्षे निरन्तरतामा प्रश्न उठ्छ र उहाँहरू आफैँ पनि खारेज हुनुहुन्छ ।’ अहिले अद्यावधिकका नाममा देशभर आतंक सिर्जना गरिएको उनको ठहर छ ।
बरालले कांग्रेस अहिले विपी कोइरालाको आदर्श र विपी–वादबाट विमुख भएकोमा पनि रोष प्रकट गरे । सरकारका जनविरोधी गतिविधि, शिक्षा र स्वास्थ्यमा लगाइएको कर र राष्ट्रियताका सवालमा कांग्रेसको आवाज कमजोर भएको उनको दाबी छ । ‘सानेपामा नेतृत्व गर्ने साथीहरू सरकारका साझेदार हुन् कि दर्शक मात्र हुन् भन्ने छुट्याउन गाह्रो भएको छ,‘ उनले थपे, ‘संसद्मा कांग्रेसको आवाज सत्ताको छायाँ जस्तो देखिएको छ ।’
नेता बरालले १५औँ महाधिवेशनका लागि चुनदेवीमा सम्पर्क कार्यालय खोल्नुलाई नयाँ पार्टी खोल्ने तयारीका रूपमा नलिन आग्रह गरेका छन् । उनले यो केवल समान विचार भएका साथीहरूबीचको तयारी मात्र भएको प्रष्ट पारे ।
तथापि, सार्थक संवादको अभावमा पार्टी एकता संकटमा परेको उनले स्वीकार गरे । नेतृत्वले तीन लाइनको इमानदार वक्तव्य निकालेर विपी–वादमा फर्कने र अधिवेशनको विश्वसनीय वातावरण बनाउने प्रतिबद्धता जनाए मात्र समस्या समाधान हुने उनको विश्वास छ ।
पार्टी नेतृत्वको भविष्यका बारेमा बोल्दै बरालले कांग्रेससँग अनुभवी र निष्कलङ्क नेताहरूको कमी नभएको बताए । उनले डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला जस्ता नेताहरूलाई डिजिटल लोकप्रियताको नाममा बदनाम गराउने प्रयास भइरहेको बताए । उनले भने, ‘केही वर्षदेखि पुराना नेताहरूलाई कुरुप बनाउने र बदनाम गर्ने भाष्य स्थापित गर्न खोजिएको छ, जुन यथार्थ होइन । केवल डिजिटल लोकप्रियताले मात्र देश चल्दैन ।’
नेता बरालले कांग्रेसका सबै तहका नेता र कार्यकर्तालाई जिम्मेवार बन्न र आत्मसमीक्षा गर्न अपिल गरेका छन् । चरम महत्त्वाकांक्षा र उक्साहटमा लागेर पार्टीलाई कमजोर बनाउनुभन्दा देशको लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि एक ठाउँमा उभिनुको विकल्प नभएको उनले बताए ।
नेतृत्वले सार्थक वार्ताको तत्परता देखाएमा र विपीका आदर्शलाई पुनः स्थापित गरेमा मात्र कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने उनले बताए ।
पार्टी नेतृत्वको हठले व्यवस्था र राष्ट्रियता नै जोखिममा
नेता बरालले पार्टी नेतृत्वको अदूरदर्शिता र घमण्डका कारण पार्टी मात्र नभई मुलुकको व्यवस्था र राष्ट्रियता नै गम्भीर संकटमा परेको बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको गैरजिम्मेवारीपनले विदेशी शक्तिहरूलाई चलखेल गर्ने मौका मिलेको दाबी गरे ।
उनले विशेष महाधिवेशन र त्यसपछिका कानुनी प्रक्रियाहरू बदनियतपूर्ण भए तापनि कानुनी राज्यको सम्मान गर्दै आफूहरूले गगन थापालाई सभापति स्वीकार गरेको प्रष्ट पारे । तर, सबै पक्षलाई समेटेर पार्टीलाई एक ढिक्का बनाउने मुख्य जिम्मेवारी नेतृत्वकै भएको उनको तर्क छ । ‘हिजो शेरबहादुर देउवा र सुशील कोइरालाले हरेक निर्णय सर्वसम्मत गर्थे, तर अहिलेको नेतृत्वको जिद्घीपन र घमण्डले पार्टी र मुलुक दुवैलाई अप्ठ्यारोमा पारेको छ,‘ उनले भने ।
नेता बरालले पार्टी एकताका लागि आफूहरू पद त्याग गर्न समेत तयार रहेको बताए । उनले भने, ‘पार्टी मिल्छ भने हामी पद छोडेर बाहिर बस्न तयार छौँ, तर नेतृत्वले संवादका नाममा कहिले मेची–महाकाली त कहिले औंशी–पूर्णिमाको बहाना गरेर पन्छिन खोजिरहेको छ ।’ उनले कांग्रेसका ४६ प्रतिशत असन्तुष्ट जनमत र चार पुस्ताको लगानीलाई उपेक्षा गरेर पार्टी अगाडि बढ्न नसक्ने चेतावनी दिए ।
वैचारिक विचलनको मुद्दा उठाउँदै बरालले विपीको प्रजातान्त्रिक समाजवादलाई छाडेर सामाजिक लोकतन्त्रको बाटो समात्नुले पार्टीलाई थप कमजोर बनाएको उल्लेख गरे । संसद्मा कांग्रेसको भूमिका निरीह र लाचार देखिएको टिप्पणी गर्दै उनले नेतृत्व सत्ता साझेदारको सहयात्री जस्तो मात्र देखिएको आरोप लगाए ।
हाल उपचारका क्रममा विदेशमा रहेका शेरबहादुर देउवा करिब एक सातामा स्वदेश फर्किने जानकारी दिँदै बरालले देउवासँग आफू निरन्तर सम्पर्कमा रहेको बताए । उनले समयमै नेतृत्वले आत्मसमीक्षा नगरे कांग्रेस र देश दुवै ठूलो दुर्घटनातर्फ धकेलिन सक्ने आशंका व्यक्त गरे ।
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+9779852022918
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares